कालीगण्डकीको बाढीले पर्वतमा पाँच घर बगायो, दर्जनौँ घर जोखिममा
कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने दर्जनौँ घर डुबानमा परेका छन्।
बाढीका कारण थप घरसमेत उच्च जोखिममा परेका छन्। गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
विशेषगरी फर्से र लामाखेत क्षेत्रका प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक रहेको अध्यक्ष आचार्यले बताए।
गएरातिदेखि कालीगण्डकी नदीमा जलसतह अत्यधिक बढेपछि पर्वतसँगै म्याग्दी र बागलुङका तटीय क्षेत्रमा समेत कटान सुरु भएको छ। नदीको जलसतह बढ्दै गएपछि तटीय क्षेत्रमा त्रास बढेको छ।
नदी कटान र बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह गरेको छ।