तिनाउको बाढीले बुटवलमा ६ घर बगायो
रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।
शनिबार राति आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। कार्यालयका डीएसपी निशान्त श्रीवस्तवका अनुसार तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रमा घरहरू बगाएको हो।
लगातारको वर्षाका कारण तिनाउ नदी तथा आसपासका खोलामा जलस्तर बढेपछि बुटवलका तटीय क्षेत्रमा जोखिम बढेको छ। बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।