पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौंको महाराजगन्जस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो।
जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। यद्यपि, उजुरीमा के विषय समेटिएको छ भन्ने विवरण भने सार्वजनिक भएको छैन।
जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। २०७८ फागुन १ गते उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित हुन सकेन। तर, महाअभियोग प्रक्रियापछि जबरा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रूपमा फर्किन पाएनन्। पक्राउको कारण र उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ।