अविरल वर्षापछि कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध
यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाका कारण सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला र एस मोड तथा सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो जाँदा कर्णाली करिडोर तथा कर्णाली राजमार्ग अवरुद्ध भएका छन्।
त्यस्तै, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–२ सम्लेखोलामा पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो गएपछि राप्ती राजमार्ग पनि बन्द भएको प्रवक्ता राठौरले बताए।
सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–८ र्यालेमा गएको पहिरोले सुर्खेत–सल्यान सडकखण्ड तथा त्रिवेणी गाउँपालिका–३ ढुङ्गेबगरमा गएको पहिरोले लुहाम–कालीमाटी सडकखण्डसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभिर, कालीकोटको तिलागुफा नगरपालिका–१ भिग्म, जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका र राँकागाउँबीचको सडकखण्ड तथा मुगुको रारा छायाँनाथ नगरपालिका–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्डमा समेत पहिरोका कारण यातायात प्रभावित भएको छ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय जुम्ला, जाजरकोट, सल्यान र सुर्खेतबाट जेसीबी तथा स्काभेटरसहितका उपकरण परिचालन गरिएको प्रवक्ता राठौरले जानकारी दिए।
पहिरो पन्छाउने काम भइरहेको र अवरुद्ध सडकखण्ड क्रमशः सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।