भोटेकोशी बाढीपीडितका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि विभिन्न व्यक्ति, संस्था तथा शैक्षिक क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
वीरगञ्जका सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, साउथ जोन माध्यमिक विद्यालय वीरगञ्ज–१३ ले १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग गरेको छ।
नेपाल पुलिस स्कुल शान्तिपुरका विद्यार्थीहरूले खाजा खर्च कटाएर संकलन गरेको ९५ हजार ७८३ रुपैयाँ बाढीपीडितका लागि प्रदान गरेका छन्।
यसैगरी, भारतको लभली प्रोफेसनल युनिभर्सिटीले नेपाली विद्यार्थी तथा उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत सङ्कलन तथा आर्थिक सहयोग अभियान सुरु गरेको जनाएको छ।