उद्धारमा कमजोरी भएको भए माफी माग्छु : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले बाढीपछि खोज तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको बताएका छन्। उद्धारका क्रममा केही कमजोरी भएको हुन सक्ने भन्दै उनले सर्वसाधारणसँग माफी मागेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अपेक्षाभन्दा ठूलो क्षति भएकाले सुरुवाती उद्धारमा कठिनाइ भएको बताए। सुरुङभित्र फसेकाहरूको उद्धारका लागि पावरहाउसको माथिल्लो भागबाट प्वाल पारेर हावा र रासन पठाउने प्रयास भइरहेको उनले जानकारी दिए।
उनले सीमित स्रोत–साधनका बाबजुद सुरक्षाकर्मीले अधिकतम प्रयास गरिरहेको र अलपत्र नागरिकको उद्धार तथा राहतका लागि हेलिकोप्टरसहित राज्यका सबै संयन्त्र परिचालन गरिएको दाबी गरे।