चितवनसहित विभिन्न जिल्लाबाट दैनिक हजारौँ ग्यास सिलिन्डर काठमाडौं पठाइँदै
चितवनसहित विभिन्न जिल्लाका ग्यास उद्योगले काठमाडौंमा एलपी ग्यासको आपूर्ति बढाउन दैनिक १४ घण्टासम्म बोटलिङ गरेर सिलिन्डर राजधानी पठाइरहेका छन्।
चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषाका उद्योगले ग्यास भरेर काठमाडौं पठाइरहेका हुन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीका अनुसार चितवनका बाबा, साइबाबा र नेपाल ग्यास गण्डकी, नवलपरासीको जानकी तथा धनुषाको नेपाल ग्यास, नारायणीले दैनिक दुई सिफ्टमा करिब १५ हजार सिलिन्डर बोटलिङ गरिरहेका छन्।
त्यस्तै, अन्य उद्योगले पनि दैनिक करिब १० हजार सिलिन्डर भरेर आधा स्थानीय बजारमा र बाँकी काठमाडौं पठाइरहेका छन्।
काठमाडौं उपत्यकामा सामान्य अवस्थामा दैनिक करिब ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले माग बढेर करिब एक लाख पुगेको कालाखेतीले बताए। बुधबार मात्रै ५३ हजार ४६९ सिलिन्डर काठमाडौं पठाइएको थियो।
चितवनमा भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाडौं पठाइँदैछन्। साँघुरो सडक, सवारीको उच्च चाप र बेलाबेलामा खस्ने पहिरोका कारण ढुवानीमा भने समस्या भइरहेको व्यवसायीले बताएका छन्।