टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो
गोरखा — रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित त्रिशूली नदी किनारमा भेटिएको छ।
गत बुधबार बिहान करिब सवा ८ बजे रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका शर्माको शव मंगलबार गोरखातर्फको त्रिशूली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
शर्माको शव गोरखातर्फ त्रिशूली नदीको किनारमा फेला परेको हो। उनको शव पोस्टमार्टमपछि परिवारले बुझिसकेको प्रहरीले जनाएको छ।
भन्सार अधिकृत शर्मा हुम्लाको ताँजाकोट गाउँपालिका–२ का स्थानीय बासिन्दा थिए।
भोटेकोशी बाढीले बगाएका व्यक्तिमध्ये गोरखातर्फको त्रिशूली नदी किनार क्षेत्रमा मात्रै हालसम्म ६५ जनाको शव फेला परिसकेको छ। बाढीबाट मृत्यु हुनेको कुल सङ्ख्या पनि हजार नजिक पुगेको छ।
यसअघि भदौ १३ गते टिमुरे भन्सार कार्यालयमै कार्यरत अर्का भन्सार अधिकृत यादव भण्डारीको शव नवलपुरमा फेला परेको थियो। शर्माको शव भेटिएसँगै टिमुरेमा कार्यरत दुई जना भन्सार अधिकृतले बाढीमा परी ज्यान गुमाएको पुष्टि भएको छ।