भोटेकोशी बाढीको १०औँ दिनसम्म ३ हजार २ सयभन्दा बढी नेपालीको उद्धार
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत वितरणको काम तीव्र पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हेलिकप्टर तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत सामग्री वितरण गरिरहेको छ।
नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीका अनुसार बाढी आएको १०औँ दिनसम्म ३ हजार २ सयभन्दा बढी नेपाली नागरिक र २ सय ७० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको छ। प्रभावित क्षेत्रका सातवटै टनेलमा नेपाली सेनाको टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको उनले जानकारी दिए।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र करिब १ सय ७० मिटरसम्म प्रवेश गरी दुई जना नेपाली नागरिकलाई जीवितै उद्धार गर्न सेना सफल भएको छ। सुरुङभित्र अझै अन्य व्यक्ति फसेको आशंकामा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
त्यस्तै, त्रिशूली–३ ‘बी’ को टनेलभित्र करिब ३० मिटरसम्म प्रवेश गरी माटो तथा लेदो हटाउने काम भइरहेको छ। रसुवागढीको टनेलमा समेत करिब २ सय ७५ मिटरसम्म प्रवेश गरेर खोज तथा उद्धार कार्य अघि बढाइएको महासेनानी रेश्मीले बताए।
बाढीका कारण प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन अस्थायी संरचना निर्माणको कामसमेत अघि बढाइएको छ। विदुरको इन्द्रेणीघाटमा तुइन सञ्चालनमा ल्याइएको छ भने देवीघाटमा अर्को तुइन निर्माण भइरहेको छ। विभिन्न स्थानमा बेलिब्रिज निर्माणको कामसमेत सुरु गरिएको सेनाले जनाएको छ।
हवाई उद्धारका अतिरिक्त रसुवा र धुन्चेका विभिन्न १९ स्थानमा जमिनमै फौज परिचालन गरी खोजी, उद्धार तथा राहत वितरणको काम भइरहेको छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री पुर्याउने कामलाई प्राथमिकता दिइएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीसँग समन्वय गरी आवश्यकता पहिचान भएका स्थानमा अत्यावश्यक सामग्री ढुवानी सुरु गरिएको छ। नुवाकोटलाई केन्द्र बनाएर रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, औषधि र आवश्यक उपकरण वितरणको व्यवस्था मिलाइएको उनले बताए।
राहत सामग्री ढुवानी तथा वितरणका लागि दुईवटा हेलिकप्टरलाई ‘डेडिकेटेड’ रूपमा परिचालन गरिएको छ। त्यस्तै, शव व्यवस्थापन तथा सम्बन्धित कार्यका लागि थप दुईवटा हेलिकप्टरको व्यवस्था गरिएको प्रजिअ रेग्मीले जानकारी दिए।
बाढीका कारण अवरुद्ध भएका सडक खुलाउन सडक विभागसँग समन्वय गरी काम भइरहेको छ। साना तथा ठूला सवारीसाधन सञ्चालनयोग्य बनाउन सडक मर्मत तथा अवरोध हटाउने काम तीव्र पारिएको छ। बेत्रावतीलगायत आवश्यक स्थानमा बेलिब्रिज राख्ने काम पनि अघि बढाइएको छ।
विपद् प्रतिकार्यमा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षमता तथा स्रोतअनुसार समन्वय गरेर काम गरिरहेको प्रजिअ रेग्मीले बताए। प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण र अत्यावश्यक पूर्वाधार पुनः सञ्चालनका कामलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ।