विदेशस्थित नेपाली नियोगलाई छुट्टै खाता खोल्न निर्देशन
सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत सहयोग रकम संकलन गर्न छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार कोषको खातामा प्रत्यक्ष रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी रकम पठाउँदा समस्या हुन सक्ने भएकाले नियोगहरूलाई विद्यमान नियमअनुसार आफ्ना विविध खाता प्रयोग गर्न वा नयाँ खाता खोल्न भनिएको हो।
यी खातामार्फत नेपाली डायस्पोरा, विदेशी नागरिक, स्थानीय संघसंस्था तथा सामुदायिक समूहबाट राहत सहयोग रकम संकलन गरिने मन्त्रालयले जनाएको छ। नियोगहरूले संकलित रकमको दैनिक अभिलेख राख्नुपर्नेछ भने प्रत्येक महिना तोकिएको राहत खातामा रकम स्थानान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि सरकारले दैवी प्रकोप उद्धार कोषकै खातामा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको थियो।
यस्तै, मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूले मित्रराष्ट्रसँग समन्वय गरी बाढीबाट प्रभावित विशेष क्षेत्रलाई लक्षित गरेर मात्र यात्रा सम्बन्धी सूचना प्रवाह गर्ने प्रयास भइरहेको जनाएको छ। नेपालका अन्य क्षेत्रहरू यात्रा तथा पर्यटनका लागि खुला र सुरक्षित रहेको विषयलाई समेत स्पष्ट रूपमा प्रचार गरिरहेको मन्त्रालयले जनाएको छ।