बिजुलीमा लगाइएको भ्याट हटाउने सरकारको तयारी
सरकारले विद्युत्मा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच विद्युत्मा भ्याट हटाउने विषयमा सहमति जुटेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
ऊर्जा खपत बढाउने उद्देश्यले भ्याट हटाउन ऊर्जामन्त्री श्रेष्ठले अर्थमन्त्री वाग्लेसमक्ष प्रस्ताव गरेका थिए । प्रस्तावमा अर्थमन्त्री सकारात्मक भएपछि भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति भएको मन्त्रालयका एक अधिकारीले बताए ।
मन्त्रिपरिषद्बाट निर्णय भएपछि विद्युत्मा लगाइएको भ्याट हट्नेछ ।
सरकारले चालु आर्थिक वर्षदेखि घरायसी ग्राहकका लागि ५ प्रतिशत तथा औद्योगिक र अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाउँदै आएको छ । विद्युत्मा भ्याट लगाउने निर्णयको आलोचना भएपछि सरकारले हटाउने तयारी गरेको हो ।
ऊर्जा मन्त्रालयका अनुसार प्रधानमन्त्री पनि विद्युत्मा भ्याट हटाउने विषयमा सकारात्मक छन् ।