रसुवा, नुवाकोट र धादिङका सबै स्थानमा टेलिकम सेवा पुनः सञ्चालन
नेपाल टेलिकमले बाढीका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै स्थानमा मोबाइल तथा इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ।
भदौ १० गते आएको बाढीका कारण यी जिल्लामा रहेका १२० साइटमध्ये ८३ साइटको सेवा अवरुद्ध भएको थियो। तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ का तीन साइट भने पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
टेलिकमका प्राविधिक टोलीले सुरक्षा निकायसँग समन्वय गरी हेलिकप्टरमार्फत आवश्यक उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गरेर प्रभावित साइटहरू सञ्चालनमा ल्याएका हुन्।
भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका विभिन्न साइट सञ्चालनमा आएसँगै तीनवटै जिल्लाका सबै प्रभावित साइट सुचारु भएको टेलिकमले जनाएको छ।
बाढीका कारण भौतिक संरचनामा क्षति पुगे पनि प्राविधिक टोलीले वैकल्पिक उपकरण तथा आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्दै सेवा पुनःस्थापनालाई तीव्रता दिएको टेलिकमको भनाइ छ।