उपभोक्तालाई प्राथमिकता दिँदै ग्यास बिक्री गर्ने सहमति, व्यावसायिक प्रयोजनमा तत्काल रोक
काठमाडौंमा एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि ग्यास बिक्रेताहरूले तत्काललाई घरेलु उपभोक्तालाई प्राथमिकता दिएर मात्र ग्यास बिक्री गर्ने सहमति गरेका छन्।
नेपाल आयल निगमको उपस्थितिमा ग्यास बिक्रेता महासंघ र ग्यास बिक्रेता संघ काठमाडौंबीच बुधबार भएको सहमतिअनुसार हाललाई व्यावसायिक प्रयोजनका लागि ग्यासको बिक्री–वितरण रोक्ने निर्णय गरिएको हो।
सहमति अनुसार विद्यार्थी, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम तथा बाढीपीडितका लागि सञ्चालन गरिएका सेल्टरलाई आवश्यकताअनुसार ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
केही दिनअघि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा पहिरो गएपछि नारायणगढ–मुग्लिङ–काठमाडौं सडकखण्डको यातायात प्रभावित हुँदा काठमाडौंमा ग्यास आपूर्तिमा समेत थप समस्या देखिएको छ। यसैलाई मध्यनजर गर्दै तराईका उद्योगबाट ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाउने सहमति भएको छ।
त्यस्तै, उपलब्ध ग्यासलाई समानुपातिक रूपमा वितरण गर्ने र व्यावसायिक प्रयोजनका लागि ग्यास प्रयोग गर्ने व्यवसायीले आफूले प्रयोग गर्ने ब्रान्डका सिलिण्डर सम्बन्धित उद्योगसँग समन्वय गरी तराईका उद्योगमा लगेर रिफिल गर्न सक्ने व्यवस्था मिलाइएको छ।
ग्यासको आपूर्ति सहज नभएसम्म व्यावसायिक प्रयोजनका लागि काठमाडौंमै ग्यास बिक्री नहुने देखिएको छ। यसले होटल, रेस्टुरेन्ट तथा अन्य ग्यासमा निर्भर व्यवसायमा थप असर पर्न सक्ने देखिन्छ।