चिकित्सकको सुझावपछि प्रधानमन्त्री बालेनले संसद्मा कालो चस्मा लगाउने
काठमाडौं । चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा अनिवार्य रूपमा लगाउनुपर्ने भएको छ। प्रधानमन्त्री कार्यालयले आँखाको स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदनसहितको पत्र सङ्घीय संसद् सचिवालयमा पठाएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्यसम्बन्धी प्रतिवेदनसहितको पत्र प्राप्त भएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले केही समयअघि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आँखाको उपचार गराएका थिए। उपचारका क्रममा चिकित्सकहरूले आँखालाई उज्यालो प्रकाशबाट जोगाउन सनग्लास अनिवार्य रूपमा प्रयोग गर्न सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
चिकित्सकको सोही सुझावअनुसार प्रधानमन्त्री शाहले कालो चस्मा प्रयोग गर्दै आएका हुन्। प्रधानमन्त्री कार्यालयले चिकित्सकको सल्लाह र सुझावका आधारमा कालो चस्मा लगाउनुपरेको उल्लेख गर्दै आँखाको स्वास्थ्य परीक्षणसम्बन्धी रिपोर्ट संसद् सचिवालयमा पठाएको जनाएको छ।
यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकमा उपस्थित हुँदा सांसदहरूलाई कालो चस्मा नलगाउन सम्बन्धित दलका प्रमुख सचेतक तथा सचेतकमाफर्त जानकारी गराएका थिए। स्वास्थ्यसम्बन्धी कारणले कालो चस्मा लगाउनुपर्ने अवस्था भएमा त्यसको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो।
प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन संसद् सचिवालयमा पुगेपछि चिकित्सकीय कारणले संसद् बैठकमा कालो चस्मा प्रयोग गर्ने बाटो खुलेको छ।