तिब्बत बाढीपहिरोमा ३ जनाको मृत्यु, ५५८ जना बेपत्ता
काठमाडौं — चीन–नेपाल सीमावर्ती तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ।
बुधबार बिहान सीमावर्ती क्षेत्रमा पहिरो खसेपछि एक हजारभन्दा बढी उद्धारकर्मी खोजी तथा उद्धारमा परिचालन भएका छन्। उद्धारका लागि खोजी कुकुर, ड्रोन तथा मानिसको उपस्थिति पत्ता लगाउने उपकरण प्रयोग गरिएको छ।
चिनियाँ अधिकारीहरूका अनुसार अस्थिर भूभाग र साँघुरा पहाडी सडकका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। मुख्य प्रभावित क्षेत्रमा ठूला सवारीसाधन र भारी उपकरण पुग्न कठिन भए पनि आसपासका सडकमार्फत आवश्यक राहत तथा उद्धार सामग्री पुर्याइएको छ।
सिन्ह्वाका अनुसार सीमावर्ती क्षेत्रमा करिब ८०० उद्धारकर्मी र १५० भन्दा बढी सवारीसाधन परिचालन गरिएको छ। अग्निशमन सेवाले थप ४३१ कर्मचारीसहित खोजी कुकुर, स्क्यानर र साना डुंगा परिचालन गरेको छ। राहत सामग्री बोकेका नागरिक तथा सैन्य विमानसमेत तिब्बत पुगेका छन्।
रातभर वर्षा भइरहेकाले थप पहिरो तथा चट्टान खस्ने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन्। यसले खोज तथा उद्धार कार्य थप कठिन बन्न सक्ने जनाइएको छ।
तिब्बत स्वायत्त क्षेत्र विदेशी पत्रकारका लागि सीमित पहुँच भएको क्षेत्र भएकाले घटनास्थलबाट स्वतन्त्र रूपमा सूचना संकलनमा समेत चुनौती रहेको बताइएको छ।