चितवनमा रसुवा बाढीमा ज्यान गुमाएकाको शव राख्ने ठाउँ अभाव, ५ सय शव अट्ने पहिचान केन्द्र बनाइँदै
चितवन — रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको शव चितवनमा थपिएसँगै शव राख्ने ठाउँको अभाव भएको छ।
भरतपुर अस्पतालको शवगृहमा क्षमता भन्दा बढी शव आएपछि केही शव त्रिपाल टाँगेर बाहिर राखिएको छ। अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको छ। अस्पतालको शवगृहमा एकपटकमा १२ वटा शव राख्न सकिने क्षमता रहेको छ।
गर्मीका कारण लामो समय शव बाहिर राख्दा बिग्रने तथा दुर्गन्ध फैलिने जोखिम भएपछि जिल्ला सुरक्षा समितिले वैकल्पिक व्यवस्थाको तयारी गरेको छ। शवगृहमा अट्न नसकेका शवलाई एसी भएको कोठामा सुरक्षित राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
यसैबीच, भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनमा पीडित परिवार सम्पर्क तथा परामर्श केन्द्र स्थापना गर्ने काम भइरहेको छ। चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार उक्त केन्द्रमा करिब ५ सय शव राख्न सकिने व्यवस्था मिलाइँदै छ।
चितवन क्षेत्रमा मात्रै हालसम्म १०८ वटा शव फेला परेको प्रहरीले जनाएको छ। शवलाई सुरुमा भरतपुर अस्पतालमा ल्याएर सफा गर्ने, ट्याग लगाउने र बडी ब्यागमा राख्ने तथा त्यसपछि विशेष कुलिङ हलमा सुरक्षित राख्ने व्यवस्था गरिनेछ।
आफन्तले नेपाल प्रहरीको वेबसाइट तथा सामाजिक सञ्जालमा राखिएका तस्बिर हेरेर शव पहिचान गर्न सक्नेछन्। बेपत्ता व्यक्तिको खोजीका लागि भने सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्ने प्रहरीले जनाएको छ।
शव पहिचान भएपछि ट्याग नम्बरका आधारमा कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइनेछ। शव घरसम्म लैजान करिब २२ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।
बाढीपीडित परिवारका लागि होटल व्यवसायी संघ चितवन र सौराहाको समन्वयमा निःशुल्क बसोबासको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आवश्यक परे १०० नम्बरमा फोन गरेर सहयोग लिन सकिने प्रहरीले जनाएको छ।