रसुवाको बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन
रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना व्यक्ति परिवारको सम्पर्कमा नआएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका सूचना अधिकारी एसएसपी शारदा प्रसाद चौधरीका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट रसुवामा रहेका १२९ जना व्यक्ति बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको हो।
‘जिल्ला–जिल्लाबाट सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण संकलन भइरहेको छ । केही व्यक्ति भने सम्पर्कमा आइसकेका छन्,’ एसएसपी चौधरीले बताए।
रसुवामा निजी तथा सरकारी कामका साथै अन्य प्रयोजनका लागि पुगेका लुम्बिनी प्रदेशका नागरिकहरू बाढी तथा पहिरोपछि परिवारको सम्पर्कमा आउन नसकेका हुन्।
प्रहरीका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने काम भइरहेको छ। साथै, प्राप्त विवरणलाई अद्यावधिक गर्ने कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।