रसुवामा बाढी: ६ प्रहरी युनिटका २८ कर्मचारी सम्पर्कविहीन
तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण रसुवाका ६ वटा प्रहरी युनिटमा कार्यरत २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती र हाकुमा कार्यरत प्रहरी कर्मचारी सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीनमध्ये ५ जना प्रहरी कर्मचारीको भने उद्धार गरिएको छ। प्रहरी जवान मनिकान्दु चौधरी, रामकिशोर धोबी, जितबहादुर गुरु र सहायक हवलदार गिरप्रसाद श्रेष्ठलाई उद्धार गरी त्रिशूलीस्थित मैथली ब्यारेकमा राखिएको छ।
२५ वर्षीया मनिकान्दु नवलपरासीकी, ३२ वर्षीय रामकिशोर रुपन्देहीका, २६ वर्षीय जितबहादुर धादिङका तथा सहायक हवलदार श्रेष्ठ अर्घाखाँचीका हुन्।
यस्तै, प्रहरी हवलदार राजन खत्रीलाई पनि उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। दोलखाको भीमेश्वर–४ घर भएका ४१ वर्षीय खत्रीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बाढीपछि सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।