विपद्को सामना गर्न सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प
काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले दुःख व्यक्त गर्दै विपद्को सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश तथा वातावरणीय संकटप्रति राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको हो।
बैठकले विपद् कुनै एक भूगोल वा सरकारको मात्र संकट नभई सिंगो राष्ट्रको साझा चुनौती भएको निष्कर्ष निकाल्दै नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दल एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ।
बैठकमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावितको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले प्रभावकारी रूपमा लिनुपर्नेमा समेत दलहरू एकमत भएका छन्।
सर्वदलीय बैठकमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका नेता चन्दन सिंह सहभागी थिए।
बैठकले तत्काल उद्धार तथा राहतदेखि दीर्घकालीन पुनःस्थापनासम्मका कार्यमा राजनीतिक दल, सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएको छ।