विदेशबाट पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गर्न सकिने
काठमाडौं — विदेशमा रहेका नेपाली तथा इच्छुक व्यक्ति र संस्थाले अब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गर्न सक्ने भएका छन्।
विपद्का बेला राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न चाहनेका लागि सरकारले विदेशबाट समेत सहज रूपमा रकम जम्मा गर्न सकिने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो।
अर्थ मन्त्रालयका अनुसार पोर्टलमार्फत कोषमा सिधै रकम जम्मा गर्न सकिनेछ। पोर्टलमा रकम पठाउने प्रक्रिया, आवश्यक विवरण तथा उपलब्ध भुक्तानी विकल्पबारे जानकारीसमेत राखिएको छ।
सरकारले देश तथा विदेशमा रहेका नागरिकलाई विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको छ। संकलित रकम पारदर्शी रूपमा विपद् प्रभावितका लागि परिचालन गरिने सरकारले जनाएको छ।