सिद्धिचरणमा विद्युत् सर्ट भएर आगलागी, दुई घर जलेर नष्ट
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
मङ्गलबार साँझ स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको थियो । आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट कोटमाया कार्कीको घरसहित अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ । घटनामा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
त्यस्तै, ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उनको घरमा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीबाट मानवीय तथा चौपायामा भने कुनै क्षति नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए।