प्रधानमन्त्री बालेनलाई संसद्मा कालो चस्मा लगाउन स्वास्थ्य परीक्षणले अनुमति
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसद् बैठकमा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहले कालो चस्मा प्रयोग गर्नुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सचिवालयमा प्राप्त भएको हो। रिपोर्ट दर्ता भएसँगै प्रधानमन्त्री शाहले संसद् बैठकमा कालो चस्मा लगाएर उपस्थित हुन पाउने भएका छन्।
यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतकमाफर्त सांसदहरूलाई निर्देशन दिएका थिए। स्वास्थ्यसम्बन्धी कारणले कालो चस्मा लगाउनैपर्ने अवस्था भएमा त्यसको प्रमाणस्वरूप स्वास्थ्य परीक्षण रिपोर्ट पेस गर्नुपर्ने सभामुखको निर्देशन थियो।
सोही निर्देशनअनुसार प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षणसम्बन्धी रिपोर्ट संसद् सचिवालयमा पठाइएको हो। आँखाको परीक्षणका क्रममा नाङ्गो आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकाले कालो चस्मा प्रयोग गर्नुपर्ने अस्पतालको रिपोर्ट साउन २६ गते संसद् सचिवालयमा पठाइएको जनाइएको छ।
यसैबीच, बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहलाई ११ जना सांसदले विभिन्न विषयमा प्रश्न गर्ने कार्यसूची रहेको छ।
स्वास्थ्य परीक्षण रिपोर्ट संसद् सचिवालयमा दर्ता भएसँगै प्रधानमन्त्री शाहलाई संसद् बैठकमा कालो चस्मा प्रयोग गर्न बाटो खुलेको हो।