नाबालिकाको डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मा हाजिर जमानीमा छुटिन्
ललितपुर — नाबालिकाको डिम्ब किनबेच प्रकरणमा पक्राउ परेकी डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन्। जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार उनलाई हाजिर जमानीमा छाड्ने आदेश दिएको हो।
डा. शर्मामाथि बिएन्डबी अस्पतालको आईभीएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालेको आरोप छ। फिलिपिन्सबाट फर्किएपछि उनी निवेदन दिएर प्रहरीसमक्ष उपस्थित भएकी थिइन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बिहीबार नियन्त्रणमा लिएर सोही दिन सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो। बयानमा डा. शर्माले आरोप अस्वीकार गरेकी छन्।
यस प्रकरणमा प्रहरीले यसअघि इमाडोलमा ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो। अनुसन्धानका क्रममा गोतामेले १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर आईभीएफ क्लिनिकमा पुर्याएको र डिम्ब निकालेबापत ३० हजार रुपैयाँ दिएको खुलेको थियो।
किशोरी बिरामी भएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ। यसअघि पनि नाबालिकाको डिम्ब तस्करीसम्बन्धी प्रकरणमा अनुसन्धान अघि बढाइएको थियो। तर, महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी विवादमा तानिएकी थिइन्।