प्रधानमन्त्री वालेन्द्र शाह र वर्षमान पुनबीच भेटवार्ता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा रोल्पामा गएको भीषण पहिरोबाट भएको जनधनको क्षति र प्रभावित परिवारको राहत तथा पुनःस्थापनाबारे छलफल भएको छ।
भेटमा प्रधानमन्त्री शाहले पहिरोपछि उत्पन्न विपद्का समस्या समाधान गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए। नेता पुनले पहिरोबाट विस्थापित परिवारको पुनःस्थापना, गाँस, बास र कपासको व्यवस्था गर्न तथा पुनःनिर्माणका लागि सरकारले पर्याप्त सहयोग गर्नुपर्ने माग राखेका छन्।
रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा बुधबार राति गएको भीषण पहिरोमा १० जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता रहेको बताइएको छ। पहिरोमा परी गम्भीर घाइते भएका दुई जनाको बुटवलमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा पुरिएका तथा बाढीले बगाएका गरी १० जनाको शव फेला परेको छ। घटनास्थलबाट पाँच जनाको शव निकालिएको छ भने थप पाँच जनाको शव रोल्पाको लुंग्री खोला र प्यूठानको माडी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।
पहिरो प्रभावितको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग नेता पुनले आग्रह गरेका छन्।