इरानको चेतावनी: नाकाबन्दी जारी राखे अमेरिकी युद्धपोत निशाना बनाउने
काठमाडौं — इरानले अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी जारी राखे अमेरिकी युद्धपोतलाई निशाना बनाउने चेतावनी दिएको छ।
इरानी सर्वोच्च नेता मोज्तबा खामेनेईका सैन्य सल्लाहकार मोहसेन रेजाइले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा सैन्य गतिविधि बढाए त्यसको जवाफ दिने बताएका छन्। उनले इरानले जलमार्ग अवरोध र दबाबलाई चुपचाप स्वीकार नगर्ने बताए।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार नाकाबन्दीपछि अमेरिकी नौसेनाले केही व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको छ भने केही जहाज निरीक्षणसमेत गरेको छ।
रेजाइले होर्मुज हुँदै हुने व्यापारिक गतिविधिमा इरानको नियन्त्रण र सुरक्षा अधिकार रहेको दाबी गर्दै आफ्नो स्वीकृतिबिना कुनै पनि जहाज आवतजावत गर्न नदिने चेतावनी दिएका छन्। उनले अमेरिकाले दुई देशबीच भएको समझदारी उल्लंघन गरेको आरोपसमेत लगाए।