ग्यास अभाव रोक्न तत्काल ‘सिलिन्डर म्यापिङ’ गर्न संसदीय समितिको निर्देशन
काठमाडौं — प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले बजारमा देखिएको एलपी ग्यास वितरण समस्याको समाधानका लागि तत्काल ‘सिलिन्डर म्यापिङ’ सुरु गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ।
समितिले पर्याप्त ग्यास आयात हुँदाहुँदै पनि वितरण प्रणालीमा समस्या देखिएको भन्दै पारदर्शी वितरण सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पूर्ण सिलिन्डर बिक्री खुला भएपछि ग्यासको मासिक माग ४८ हजार मेट्रिक टनबाट बढेर करिब ६० हजार मेट्रिक टन पुगेको छ। सरकारले अतिरिक्त आपूर्तिका लागि भारतीय आयल निगमसँग आग्रह गरेको जनाएको छ।