पहिरो र बाढीले पाँच सडक पूर्ण अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं — लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका पाँच प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
सडक विभागका अनुसार ललितपुरको कान्तिलोकपथ, काठमाडौंको सितापाइला–धार्के सडकखण्ड, भोजपुरस्थित मध्यपहाडी लोकमार्ग, इलामको मेची राजमार्ग तथा सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी क्षेत्रअन्तर्गत अरनिको राजमार्गमा आवागमन प्रभावित भएको छ।
अवरुद्ध सडक खुलाउन डोजर, स्काभेटर, लोडरसहितका उपकरण परिचालन गरी पहिरो पन्छाउने र मर्मत कार्य तीव्र पारिएको विभागले जनाएको छ। भोजपुरस्थित मध्यपहाडी लोकमार्ग भने एकतर्फी सञ्चालनमा रहेको छ।
यसैबीच, बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिइएको छ भने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।