बागमतीमा नयाँ सरकार गठनका लागि दलबीच छलफल तीव्र
काठमाडौं — बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रमुख राजनीतिक दलहरूले छलफललाई तीव्र बनाएका छन्। नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारीमा सहमति भएपछि अन्य दलसँग पनि संवाद अघि बढाइएको छ।
एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठका अनुसार सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग छलफल भइरहेको छ। उनले सरकार गठनको गतिरोध चाँडै अन्त्य गर्ने गरी संवाद अघि बढाइएको बताए।
यता, नेपाली कांग्रेसका प्रमुख सचेतक पुकार महर्जनका अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सबै दलसँग छलफल गर्दै स्पष्ट बहुमतसहित नयाँ सरकार गठन गर्न वा वर्तमान सरकारलाई समर्थन गरेर राजनीतिक अन्योल अन्त्य गर्न आग्रह गरेका छन्।
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेससँग ३६, नेकपासँग २६, एमालेसँग २५, राप्रपासँग १२, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट छन्।
एमालेले कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढे पनि आवश्यक बहुमत नपुग्दा प्रदेशको राजनीतिक समीकरण अझै अनिश्चित बनेको छ।