फिफा अध्यक्ष इन्फान्टिनो संकटमा, उत्तराधिकारीको दौडमा चार नाम चर्चामा
काठमाडौं — विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोमाथि नेतृत्व संकट देखिएको छ। फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने उनको योजना विवादमा परेपछि केही प्रभावशाली फुटबल संघहरूले समर्थन फिर्ता लिन थालेका छन्।
आगामी मार्चमा हुने फिफा अध्यक्षको चुनावमा चौथो कार्यकालका लागि उम्मेदवारी दिने तयारीमा रहेका इन्फान्टिनोलाई जितका लागि २११ सदस्य राष्ट्रमध्ये कम्तीमा १०६ मत आवश्यक पर्छ। तर इंग्ल्यान्ड र वेल्ससहितका संघहरूको असन्तुष्टिले उनको स्थिति कमजोर बनेको बताइएको छ।
इन्फान्टिनो पदबाट बाहिरिएमा सम्भावित उत्तराधिकारीका रूपमा क्यानडाका भिक्टर मोन्टाग्लियानी, बहराइनका शेख सलमान बिन इब्राहिम अल खलिफा, कतारका नासिर अल–खेलाफी र स्विडेनका म्याथियास ग्राफस्ट्रोमको नाम चर्चामा छ।
फिफाको नयाँ अध्यक्षको टुंगो आगामी मार्चमा मोरक्कोमा हुने सम्मेलनबाट लाग्नेछ। अध्यक्ष पदका आकांक्षीले नोभेम्बर १८ सम्ममा उम्मेदवारी दर्ता गर्नुपर्नेछ।