इरानद्वारा बहराइनमाथि पुनः ड्रोन आक्रमण, पाँच दिनमा तीन पटक हमला
सीएनएनले सात जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानले अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीलाई लक्षित गरी रासायनिक वा रेडियोधर्मी पदार्थ मिसाइएको बम प्रयोग गर्ने योजना बनाएको समाचार सार्वजनिक गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्भावित खतरालाई गम्भीरतापूर्वक लिएको बताएका छन् । उनले यस्तो खतरा वास्तविक भए इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले उक्त समाचारलाई ‘मनगढन्ते’ भन्दै खण्डन गरेका छन् । उनले इरानमाथि आक्रमण गर्नेहरूले सञ्चारमाध्यममार्फत आधारहीन आरोप फैलाएर आफ्नो योजनाका लागि वातावरण बनाइरहेको आरोप लगाए ।
मंगलबार बहराइनको राजधानीमा विस्फोटका आवाज सुनिएका थिए । त्यसपछि सुरक्षा निकायले मोबाइल फोनमार्फत नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।
बहराइनको सेनाले इरानबाट आएका कैयौँ हवाई आक्रमणलाई प्रतिकार गरी नष्ट गरेको जनाएको छ । यता, इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकी सेनाले सञ्चालन गरिरहेको शेख इसा एयर बेसको राडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
यसैबीच, कतारले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । अमेरिकी नौसेनाले थप विमानवाहक युद्धपोत खाडी क्षेत्रतर्फ पठाएपछि क्षेत्रीय सैन्य तनाव थप बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।