एमालेको राष्ट्रिय भेलामा लुम्बिनीबाट ४८१ प्रतिनिधि सहभागी हुने
नेकपा एमालेको मंसिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय भेलामा लुम्बिनी प्रदेशबाट ४ सय ८१ जना प्रतिनिधि सहभागी हुने भएका छन्।
पार्टीले सार्वजनिक गरेको विवरणअनुसार लुम्बिनीका १२ जिल्लाबाट केन्द्रीय नेतादेखि स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिसम्म भेलामा सहभागी हुनेछन्। दोहोरो जिम्मेवारीमा रहेका १९ जनाको संख्या कटाएर ४८१ प्रतिनिधि कायम गरिएको हो।
भेलामा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट, महासचिव शङ्कर पोखरेल तथा सचिव एवं प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत सहभागी हुनेछन्। पौडेल र पोखरेलले विशेष कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रमसमेत छ।
जिल्लागत रूपमा सबैभन्दा धेरै रुपन्देहीबाट ७५ जना सहभागी हुनेछन्। पाल्पाबाट ५२, कपिलवस्तुबाट ५०, दाङ र गुल्मीबाट ४९–४९ जना प्रतिनिधि सहभागी हुनेछन्।
देशभरबाट ३ हजार ५१४ प्रतिनिधि सहभागी हुने भेलामा संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने एमालेले जनाएको छ।