हर्क साम्पाङको माग: ‘सेना’ नामधारी समूहमाथि प्रतिबन्ध लगाउन सरकारसँग आग्रह
काठमाडौं, साउन १९ — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले ‘हिन्दू सम्राट सेना’ जस्ता नाम भएका समूहहरूसँग सरकारले वार्ता गरेकोप्रति आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले नेपाल एक सार्वभौम राष्ट्र भएकाले यहाँ नेपाली सेना बाहेक अन्य कुनै ‘सेना’ नामधारी समूहको अस्तित्व स्वीकार्य नहुने बताए। उनले यस्ता समूहलाई सरकारले प्रतिबन्ध लगाउनुपर्ने र उनीहरूसँग कुनै पनि प्रकारको वार्ता नगर्नुपर्ने धारणा राखे।
साम्पाङले आफू जनकपुर जान लागेको बेला एक समूहले बाटो अवरुद्ध गर्दै आवतजावतमा रोक लगाउने प्रयास गरेको पनि बताए। साथै, साउन ५ गते जनकपुरमा श्रमदातामाथि अज्ञात समूहले कुटपिट गरेको घटनाबारे गृहमन्त्रीलाई जानकारी गराउँदा पनि आवश्यक कारबाही नभएको भन्दै सरकारसँग जवाफ माग गरे।
उनले कोशी ब्यारेजका ५६ वटा ढोका बर्खायाममा बन्द राख्दा नेपालको भूभाग डुबानमा पर्ने गरेको उल्लेख गर्दै यस समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताए।
साथै, सुनसरीलगायत विभिन्न स्थानमा हालै भएका घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न उनले सरकारसँग माग गरे।