कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए
कपिलवस्तु — कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन्।
शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलको बीच भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको खोजी गर्ने क्रममा जंगलमा शव भेटिएको हो। सिंहले प्रयोग गर्ने मोटरसाइकलसमेत जंगलमै रोकिराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। त्यसको करिब डेढ घण्टापछि, साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरी आफू जंगलमा बाटो बिराएको बताएका थिए।
त्यसपछि आफन्तसहितको टोली सिंहको खोजीमा जुटेको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल भेटिएको थियो।
शुक्रबारदेखि नै प्रहरी, स्थानीय तथा आफन्तले निरन्तर खोजी गरिरहेका थिए। स्थानीयका अनुसार सिंह आफ्नो समूहले सञ्चालन गरेको कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएका थिए। छोटो बाटो हुने भन्दै उनले जंगलको बाटो प्रयोग गरेको बताइएको छ।
सिंहको मृत्युको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।