धनुषामा २६ दिनमा ८१ लाखको अवैध सामान बरामद, लागूऔषधसहित २४ जना पक्राउ
धनुषा प्रहरीले भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत पछिल्लो २६ दिनमा ८१ लाख ७ हजार ७८६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीले साउन १ गतेदेखि २६ गतेसम्म विभिन्न स्थानमा गरिएको कारबाहीका क्रममा अवैध सामानसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार सोही अवधिमा लागूऔषधसहित २४ जना पक्राउ परेका छन्। उनीहरूविरुद्ध १९ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
प्रहरीले उक्त अवधिमा ३४ केजी गाँजा, १८५.८२ ग्राम खैरो हेरोइन, २४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र नौ थान कोलिबेन बरामद गरेको छ।
यस्तै, हातहतियारसम्बन्धी एउटा मुद्दा दर्ता गरी तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट एक थान पेस्तोल, एक थान पेस्तोलको म्यागजिन, ७.६५ केएफ लेखिएको एक राउन्ड गोली र नौ एमएम केएफ लेखिएको एक राउन्ड गोली बरामद भएको छ।
प्रहरीले फैसला कार्यान्वयन अभियानलाई पनि तीव्रता दिएको जनाएको छ। अभियानअन्तर्गत यस अवधिमा विभिन्न अदालतबाट जारी ४१० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको छ। फैसला भएका व्यक्तिमाथि कारबाही गर्दै १५८ वर्ष ८ महिना ७ दिन कैद सजाय कार्यान्वयन गरिएको तथा ६३ लाख ७७ हजार २६१ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।