काठमाडौंमा दोस्रो राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु
काठमाडौं — अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव प्रदान गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता काठमाडौंमा सुरु भएको छ।
नेपाल ल क्याम्पस र नेपाल अपाङ्ग महिला संघको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा विद्यार्थीहरूले अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच, पहुँचयुक्तता तथा विभेदलगायतका विषयमा कानुनी बहस गर्नेछन्।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा वक्ताहरूले कानुन शिक्षण संस्था तथा न्याय प्रणालीलाई अपाङ्गतामैत्री र समावेशी बनाउनुपर्नेमा जोड दिए। उनीहरूले अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न कानुनी ज्ञानसँगै व्यवहारिक अभ्यास र अदालती प्रक्रियाको अनुभव आवश्यक रहेको बताए।
त्रिभुवन विश्वविद्यालयका कानुन संकायका डीन प्रा. डा. डी. एन. पराजुलीले शिक्षण, पाठ्यक्रम तथा परीक्षा प्रणालीलाई अपाङ्गतामैत्री बनाउनुपर्ने बताए। उनले कानुन अध्ययन गर्ने विद्यार्थीलाई समावेशी न्याय प्रणालीबारे व्यावहारिक ज्ञान दिन यस्ता प्रतियोगिता महत्वपूर्ण हुने धारणा राखे।
आयोजकका अनुसार प्रतियोगिताको प्रारम्भिक चरण र सेमिफाइनल भदौ १८ र १९ गते नेपाल ल क्याम्पसमा हुनेछ। प्रतियोगिताको फाइनल भने भदौ २० गते नेपाल प्रहरी क्लबमा आयोजना हुनेछ।
प्रतियोगितामार्फत कानुनका विद्यार्थीमा अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था, मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको प्रयोगसम्बन्धी क्षमता विकास हुने आयोजकले जनाएको छ।