प्रहरीमा जागिर लगाइदिने भन्दै १० लाख ठगी, एक जना पक्राउ
प्रहरीमा जागिर लगाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ४६ वर्षीय हरिबहादुर रसाईली रहेका छन्।
प्रहरीका अनुसार प्रहरी सहायक निरीक्षक पदको लिखितलगायत सबै परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ता बाँकी रहेका एक आवेदकलाई उनले गृह मन्त्रालयका विशिष्ट अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको र अन्तर्वार्तामा नाम निकालिदिने भन्दै विश्वासमा पारेका थिए। त्यसका लागि ‘सेटिङ मिलाउन’ १० लाख रुपैयाँ लाग्ने बताएपछि पीडितलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएको आरोप छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको हो। पक्राउ परेका रसाईलीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।