प्रतिनिधिसभामा ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले मनसुनजन्य विपद्, स्वास्थ्य सेवा, सडक पूर्वाधार, खाना पकाउने ग्यासको आपूर्ति, सामाजिक सुरक्षा तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकमा सांसद इन्दिरा रानामगरले खाना पकाउने ग्यासको आपूर्ति यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गरिन्।
यस्तै, सांसद प्रेमलाल चौधरीले इलाम प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै जिल्लामा स्तरीय अस्पतालको अभाव रहेको बताए।
उनले बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै इलामको मयुखोलामा स्थायी पुल निर्माण गर्न सरकारसँग माग गरे।