नामी भिगो ई२ अब दैनिक करिब १ हजार रुपैयाँ किस्तामै, मूल्य ८ लाख घट्यो
काठमाडौं — नेपाली बजारमा लोकप्रिय बन्दै गएको नामी भिगो इलेक्ट्रिक एसयूभी अब दैनिक करिब १ हजार रुपैयाँको किस्तामा चढ्न सकिने भएको छ। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले भिगो ई२ को मूल्य एकैपटक ८ लाख रुपैयाँ घटाएपछि यसको मासिक किस्ता पनि घटेको हो।
कम्पनीले नाडा अटो शो अवधिसम्म भिगो ई२ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ। नाडा अटो शोपछि भने यसको नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुने जनाइएको छ। यसअघि भिगो ई२ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ थियो।
हालको मूल्यअनुसार ग्राहकले ४० प्रतिशत डाउनपेमेन्ट गर्दा १४ लाख ३९ हजार ६०० रुपैयाँ सुरुमै बुझाउनुपर्नेछ। बाँकी २१ लाख ५९ हजार ४०० रुपैयाँ ७ वर्षका लागि बैंकबाट कर्जा लिएर खरिद गर्न सकिनेछ।
५.५ प्रतिशत ब्याजदर र ७ वर्षको कर्जा अवधिलाई आधार मान्दा यसको मासिक किस्ता करिब ३१ हजार ३० रुपैयाँ, अर्थात् दैनिक करिब १ हजार ३४ रुपैयाँ पर्ने गणना गरिएको छ। यसअघि करिब ४४ लाख रुपैयाँ मूल्य हुँदा मासिक किस्ता ३८ हजार रुपैयाँ हाराहारी पर्ने गरेको थियो।
नामी भिगोमा ५१.८७ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिन्छ। ३सी फास्ट चार्जिङ सपोर्ट गर्ने यो एसयूभी १६७ किलोवाटको डीसी फास्ट चार्जरबाट ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १८ मिनेटमा चार्ज गर्न सकिने दाबी गरिएको छ।
यसमा ९९ किलोवाटको विद्युतीय मोटर छ, जसले १६० न्युटन मिटर टर्क उत्पादन गर्छ। १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको भिगोमा १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले र ३६० डिग्री क्यामेरा उपलब्ध छन्।
सुरक्षातर्फ ६ एयरब्याग, एडीएएस लेभल–२, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल र अटो होल्डलगायत फिचर दिइएको छ।
कम्पनीका अनुसार नेपालमा आएको करिब एक वर्षमै भिगोका ७०० भन्दा बढी युनिट बिक्री भइसकेका छन्। मूल्य घटेसँगै विद्युतीय एसयूभी बजारमा भिगोको प्रतिस्पर्धात्मक क्षमता अझ बढ्ने अपेक्षा गरिएको छ।