कैलालीमा धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिबद्धता
धनगढी — कैलालीमा धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सर्वपक्षीय प्रतिबद्धता जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा धनगढीमा बसेको सर्वपक्षीय बैठकमा राजनीतिक दल, धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले सदियौँदेखि कायम रहेको सामाजिक एकता जोगाउन मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रजिअ रेग्मीले पूर्वी नेपाल र तराई–मधेसका केही जिल्लामा धार्मिक सद्भाव प्रभावित पार्ने गतिविधि देखिएकाले कैलालीमा उच्च सतर्कता अपनाइएको बताए। उनले सीमा क्षेत्रबाट हुने शङ्कास्पद गतिविधि र जोखिमपूर्ण क्षेत्रमा प्रशासनले निगरानी बढाएको जानकारी दिए।
बैठकमा हिन्दू, मुस्लिम र इसाई धर्मका अगुवाहरूले आफ्ना समुदायबाट कुनै गलत गतिविधि हुन नदिने प्रतिबद्धता जनाउँदै कानुनविपरीत कार्य गर्ने जोसुकैलाई कारबाही गर्नुपर्नेमा जोड दिए।
बैठकले स्थानीय तहमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ। साथै, धार्मिक कार्यक्रम गर्दा पूर्वस्वीकृति लिने, हतियार वा उत्तेजक सामग्री प्रदर्शन नगर्ने र अर्को समुदायको आस्थामा असर पर्ने गतिविधि नगर्ने सहमति भएको छ।
सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक समुदायविरुद्ध भ्रामक, उत्तेजक वा द्वेष फैलाउने सामग्री प्रसार गरे कानुनअनुसार कारबाही गर्ने निर्णयसमेत गरिएको छ।
यसैबीच, शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न कैलाली उद्योग वाणिज्य सङ्घको अगुवाइमा सोमबार नागरिक सद्भाव र्याली आयोजना गर्ने निर्णय भएको छ।