भरतपुरमा तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु
चितवन — भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार आइतबार बिहान नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कारसँग ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्ट गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा केहीबेरअघि मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठ पनि घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न सवारी चालक तथा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।