भोजपुरको पिखुवा खोलामा २ करोड ६१ लाखको बेलिब्रिज बन्दै
भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानस्थित पिखुवा खोलामा मोटरेबल बेलिब्रिज निर्माण हुने भएको छ। दुई गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने गरी बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाइएको हो।
स्थानीयको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ भने आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेको छ। वर्षायामका कारण खोलामा पानीको बहाव बढेकाले हाल निर्माण सुरु गर्न नसकिएको जनाइएको छ।
पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार पुल निर्माणका लागि २ करोड ६१ लाख ४८ हजार ८३५ रुपैयाँ लागत लाग्नेछ। निर्माणको जिम्मा राउन कन्स्ट्रक्सन, उदयपुरले पाएको छ। वर्षात् कम हुनासाथ काम सुरु गर्ने र आगामी भदौको पहिलो सातादेखि निर्माण अघि बढाउने तयारी रहेको कार्यालयले जनाएको छ।
पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले लामो समयको पहलपछि फत्तेपुर दोभानमा बेलिब्रिज निर्माणको काम अघि बढाउन सफल भएको बताए। स्थायी मोटरेबल पुलको अभावमा स्थानीयले वर्षौंदेखि वर्षायाममा आवतजावतमा समस्या भोग्दै आएको भन्दै उनले पुल निर्माणपछि यातायात सहज हुने बताए।
पुल निर्माण सम्पन्न भएपछि क्षेत्र अरुण करिडोरसँग सहज रूपमा जोडिने र तिवारी भञ्ज्याङ हुँदै धरानसम्मको दूरी करिब ८१ किलोमिटरमा सीमित हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीयस्तरमा यातायात, व्यापार, स्वास्थ्य, शिक्षा तथा अन्य सेवा प्रवाहमा समेत सुधार आउने जनाइएको छ।
स्थानीयवासीका अनुसार वर्षायाममा पिखुवा खोलामा पानीको बहाव बढ्दा आवतजावत कठिन हुने गरेको छ। बेलिब्रिज निर्माण भएपछि दैनिक आवतजावतमा सहजता आउनुका साथै गाउँपालिकाबीचको आर्थिक तथा सामाजिक सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ।