४३ वर्षको यात्रामा राजनीति, समाजसेवा र मानवताको बाटो : २८ पटक रक्तदान गरेका योगीलाई जन्मदिनमै थपियो नयाँ जिम्मेवारी
सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका-३ सानानचवरमा जन्मिएका एक सामाजिक तथा राजनीतिक व्यक्तित्वले आफ्नो जीवनको ४३औँ वसन्त पूरा गरेका छन्। जन्मदिनलाई भड्किलो उत्सवका रूपमा मनाउन खासै रुचि नराख्ने उनले यसपटक भने जन्मदिनलाई मानवसेवासँग जोड्दै बिरुवा रोप्नुका साथै आर्थिक अभावमा उपचार गराइरहेका बालिकालाई सहयोग गरेर उदाहरण प्रस्तुत गरेका छन्। यही अवसरमा उनलाई विश्व रक्तदाता संगठन नेपाल (WBDON) सल्यान जिल्ला संयोजकको नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ।
२०४० भदौ ३ गते बिहान करिब ३ बजे साविक कोर्वाङ झिम्पे गाविस-३, हाल छत्रेश्वरी गाउँपालिका-३ साननचौरमा आमा काली योगी र बुवा दुर्गानाथ योगीको कोखबाट साइँलो सन्तानका रूपमा जन्मिएका योगीको बाल्यकाल गाउँमै बित्यो। उनले प्रारम्भिक शिक्षा गाउँकै गोरखनाथ प्राथमिक विद्यालय, सानानचौरबाट सुरु गरेका थिए। त्यसपछि कृष्ण मावि पोखरीडाँडा, शिवमदन मावि अर्घाखाँची, शारदा मा.वी. शंखमूल हुँदै शारदा क्याम्पस शंखमूलबाट स्नातक तह पूरा गरेका छन्। हाल उनी स्नातकोत्तर तहको अध्ययनसमेत गरिरहेका छन्।
उनको राजनीतिक यात्रा भने विद्यार्थी जीवनमै सुरु भएको थियो। २०५४ सालमा अखिल क्रान्तिकारीको कृष्ण मा.वी. इकाइ समिति सदस्यबाट राजनीतिक यात्रा थालेका उनले त्यसपछि लामो समय संगठन निर्माण र राजनीतिक गतिविधिमा बिताएका छन्। २०५६ सालदेखि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा भूमिगत राजनीतिक जीवनमा प्रवेश गरेका उनी २०५६ देखि २०५८ तथा २०६९ सम्म विभिन्न चरणमा जनमिलिसिया हुँदै जनमुक्ति सेनाको संरचनामा समेत सक्रिय रहे।
२०५९ सालमा सल्यान जिल्लाको पार्टी एरिया समिति सदस्यको जिम्मेवारी सम्हालेपछि उनको राजनीतिक यात्रा अझ फराकिलो बन्यो। त्यसपछि पार्टीको आन्तरिक जिम्मेवारीका क्रममा अर्घाखाँची सरुवा भई करिब आठ वर्ष त्यहाँ सक्रिय रहे। २०६० देखि २०६८ सम्म एरिया सदस्य, सेक्रेटरी, वाईसीएल सन्धिखर्क इन्चार्ज हुँदै जिल्ला समिति सदस्यसम्मको जिम्मेवारी सम्हालेका उनले संगठन निर्माणमा निरन्तर भूमिका निर्वाह गरे।
२०६८ सालमा पुनः सल्यान फर्किएपछि जिल्ला समिति सदस्य हुँदै अखिल क्रान्तिकारीको सल्यान जिल्ला संयोजक, केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय समितिको महाधिवेशन आयोजक समितिसम्मको जिम्मेवारी सम्हाले। देशमा संघीय संरचना कार्यान्वयन भएपछि पार्टीको छत्रेश्वरी तहमा सचिव हुँदै अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेका उनी अहिले प्रदेश समिति सदस्य तथा संयोजकको जिम्मेवारीमा रहेका छन्।
राजनीतिक यात्रासँगै उनको परिचय सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय देखिन्छ। उनले नेपाल रेडक्रसको पालिका सभापति, किसान महासंघको जिल्ला अध्यक्षलगायत दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा अध्यक्ष तथा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। केही संस्थामा उनी अझै नेतृत्वदायी भूमिकामै सक्रिय छन्। राजनीति र सामाजिक जिम्मेवारीलाई सँगसँगै अघि बढाउँदै आएका उनले विपन्न, बिरामी तथा समस्यामा परेका व्यक्तिलाई व्यक्तिगत तथा सामूहिक अभियानमार्फत सहयोग गर्दै आएका छन्।
जन्मदिनलाई खासै प्राथमिकता नदिने उनको यसपटकको दिनचर्या पनि फरक रह्यो। उनले अनावश्यक खर्च कटाएर बुद्धचित्तको बिरुवा रोप्नुका साथै जापानिज इन्सेफलाइटिसबाट पीडित बागचौर नगरपालिकाकी चार वर्षीया बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। विभिन्न रोग तथा समस्याबाट पीडित व्यक्तिलाई मानवताको नाताले सहयोग गर्दै आएका उनले कतिपय बिरामीका लागि अभियान नै सञ्चालन गरेर उपचार तथा जीवनरक्षाका लागि सहयोग जुटाएका उदाहरणसमेत छन्।
उनको सामाजिक सेवाको अर्को निरन्तर कर्म हो —रक्तदान। "रक्तदान जीवनदान" भन्ने भावनालाई व्यवहारमै उतार्दै उनी हालसम्म २८ पटक रक्तदान गरिसकेका छन्। नियमित रक्तदान गर्दै आएका उनी सल्यानमा रक्तदान अभियानलाई निरन्तरता दिने व्यक्तिका रूपमा समेत परिचित छन्। जन्मदिनकै अवसरमा विश्व रक्तदाता संगठन नेपालले उनलाई सल्यान जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेपछि उनको मानवसेवाको यात्रामा थप औपचारिक जिम्मेवारी जोडिएको छ।
नयाँ जिम्मेवारी पाएपछि उनले आफूलाई विश्वास गरेर विश्व रक्तदाता संगठन नेपालले सल्यान जिल्ला संयोजकको जिम्मेवारी दिएकोमा संस्थाप्रति आभार व्यक्त गरेका छन्। रक्तदानलाई अभियानका रूपमा विस्तार गर्दै बढीभन्दा बढी नागरिकलाई यसतर्फ जोड्ने र आवश्यक परेको समयमा बिरामी तथा पीडितलाई रगत उपलब्ध गराउन सहयोग पुर्याउने उनको प्रतिबद्धता छ।
४३ वर्षको जीवनयात्रालाई फर्केर हेर्दा उनको परिचय केवल एउटा राजनीतिक जिम्मेवारीमा सीमित देखिँदैन। विद्यार्थी जीवनबाट सुरु भएको राजनीतिक यात्रा, भूमिगत संघर्षदेखि संगठनात्मक जिम्मेवारीसम्मको अनुभव, सामाजिक संस्थामा नेतृत्व, बिरामी तथा विपन्नलाई सहयोग र नियमित रक्तदानसम्म आइपुग्दा उनको यात्राको अर्को पाटो मानवसेवासँग जोडिएको देखिन्छ।
जन्मदिनमा हुने अनावश्यक खर्चभन्दा कसैको जीवनमा थोरै भए पनि उज्यालो थप्न सकियोस् भन्ने सोचले उनले यसपटक रोजेको बाटोले पनि उनको प्राथमिकता स्पष्ट पार्छ। एउटा बिरुवा रोप्नु, उपचारको अभावमा छटपटाइरहेको बालिकालाई सहयोग गर्नु वा आवश्यक परेका बिरामीका लागि रगत दिनु—यी काम साना देखिए पनि सामाजिक उत्तरदायित्वका दृष्टिले अर्थपूर्ण छन्।
अब २८ पटकको रक्तदानपछि सल्यान जिल्ला संयोजकको नयाँ जिम्मेवारी पाएका योगीका अगाडि रक्तदान अभियानलाई अझ व्यवस्थित र व्यापक बनाउने चुनौतीसमेत थपिएको छ। व्यक्तिगत रूपमा गर्दै आएको रक्तदानलाई संस्थागत अभियानमा विस्तार गर्न सके त्यसले जिल्लामा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीका लागि महत्वपूर्ण सहयोग पुर्याउन सक्छ।
४३औँ जन्मदिनसँगै थपिएको नयाँ जिम्मेवारी उनका लागि केवल पद होइन, मानवसेवाको यात्रालाई अझ फराकिलो बनाउने अवसर बनेको छ। राजनीति, सामाजिक सेवा र मानवताको यात्रालाई सँगसँगै अघि बढाउँदै आएका योगीको आगामी यात्रा अझ रचनात्मक र सेवामुखी बन्ने अपेक्षा गरिएको छ।
