इन्डोनेसियामा खाना खाएपछि २६९ विद्यार्थी अस्पताल भर्ना
इन्डोनेसिया । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा २६९ विद्यार्थी अस्पताल भर्ना भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार कारो रिजेन्सीका पाँच विद्यालयका विद्यार्थीमा बिहीबारदेखि खाना विषाक्तताका लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको हो।
बिरामी विद्यार्थीमा वाकवाकी, बान्ता, छालामा एलर्जी तथा सास फेर्न कठिनाइजस्ता समस्या देखिएको अधिकारीहरूले बताएका छन्। अस्पताल भर्ना भएका सबै विद्यार्थीको अवस्था अहिले स्थिर रहेको स्थानीय शिक्षा अधिकारी जुल्करनैन बारुसले बताएका छन्।
विद्यार्थीले खाएको माछाको तरकारीमा समस्या भएको आशंका गरिएको छ। उक्त खाना आपूर्ति गर्ने भान्साबाट नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।