रसुवा, नुवाकोट र धादिङमा एनसेलका १४ मोबाइल टावर पुनः सञ्चालन
काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा एनसेलले १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ।
एनसेलका अनुसार प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट पुनः सञ्चालनमा ल्याइएको हो।
विपद्का कारण करिब ७० देखि ८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि तीन जिल्लाका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। सेवा अवरुद्ध हुँदा ग्राहकसँगको दूरसञ्चार सम्पर्कमा समेत असर परेको थियो।
ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले प्राविधिक टोली परिचालन गरेको जनाएको छ। टोलीको निरन्तर प्रयासपछि १४ वटा टावर पुनः सञ्चालनमा ल्याइएको हो।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरी टावर सञ्चालनमा ल्याइएको छ भने केही स्थानमा पुराना माइक्रोवेभ लिंक प्रयोग गरेर नेटवर्क पुनः सुचारु गरिएको छ।
केही क्षेत्रमा फाइबर कनेक्टिभिटी पुनःस्थापनाका लागि इन्टरनेट सेवा प्रदायकसँग समेत सहकार्य गरिएको उनले बताइन्।
बाढी तथा पहिरोबाट अवरुद्ध नेटवर्क पुनःस्थापनाका लागि एनसेलले आफ्ना प्राविधिक टोलीलाई हवाई तथा स्थलमार्ग दुवैबाट प्रभावित क्षेत्रमा परिचालन गरेको थियो। सरकारी निकायहरूको सहयोग र समन्वयमा टोलीहरू प्रभावित क्षेत्रमा पुगेर नेटवर्क मर्मत तथा पुनःस्थापना गर्न सफल भएको एनसेलले जनाएको छ।
यसैबीच, आज दिउँसो १२ः४७ बजे धादिङको गल्छी क्षेत्रमा बाढीको भग्नावशेष हटाउने क्रममा फाइबर काटिँदा थप १८ वटा साइट प्रभावित भएका थिए। एनसेलले तत्काल प्राविधिक टोली परिचालन गरी ती सबै १८ साइटसमेत पुनः सञ्चालनमा ल्याएको जनाएको छ।
विपद्को कठिन परिस्थितिमा दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा राख्नु उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने एनसेलले जनाएको छ।