विपद्को अवस्थाबारे जानकारी दिन संसद् बैठक तत्काल बोलाउन कांग्रेसको माग
काठमाडौं — नेपाली कांग्रेसले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी गतिविधिबारे जनतालाई स्पष्ट जानकारी दिन संसद्को बैठक तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको छ।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् सञ्चालनका लागि सभामुखसँग छिटोभन्दा छिटो छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।
विभिन्न जिल्ला तथा गाउँ–गाउँमा रहेका बेपत्ताका घटनाबारे सांसदमार्फत संसद्मा आवाज उठाउन र समस्या समाधानका उपाय पहिल्याउन संसद् सञ्चालन आवश्यक रहेको कांग्रेसको भनाइ छ।
बैठकले राहत कार्यमा सहयोग पुर्याउन कांग्रेसका सबै सांसदले आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ। साथै, अत्यावश्यक पूर्वाधारको तत्काल पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारसँग आग्रह गरेको छ।
कांग्रेस सचेतक निष्कल राईले भने वास्तविक पीडित तथा आवश्यक परेका मानिसले पर्याप्त राहत पाउन नसकेको बताएका छन्। राहत सामग्री एकै ठाउँमा थुप्रिए पनि वितरण प्रणाली प्रभावकारी हुन नसकेको उनको भनाइ छ।
सरकारले अघि सारेको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको राईले बताए।
उनले शव व्यवस्थापन अत्यन्तै संवेदनशील र जटिल विषय भएकाले आवश्यक उपकरणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। पीडित परिवारको पीडा र परम्परागत संस्कारलाई ध्यानमा राख्दै विज्ञसँग परामर्श गरेर शवको सुरक्षित तथा मर्यादित व्यवस्थापन गर्नुपर्ने कांग्रेसको धारणा छ।