स–साना नदीको बहाव बढ्ने, आकस्मिक बाढीको जोखिम
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लामा बहने स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार बर्दियास्थित किरिन नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने स्थानका बासिन्दालाई विशेषगरी बेलुका उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले आज सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने जनाएको छ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागको भनाइ छ। नदी तथा खोलानाला आसपासका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजान विभागले अनुरोध गरेको छ।