जाजरकोटमा जिप दुर्घटना, एकको मृत्यु, ६ घाइते
जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
डोल्पा–जाजरकोट सडकखण्डमा भदौ ४ गते साँझ करिब ६:३० बजे नलगाड–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो।
दुर्घटनामा नलगाड–१० का २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गणेश ध्यार, मानबहादुर बोहरा, सम्झना गहतरा, राजेन्द्र ध्यार, रत्नाकुमारी बोहरा र निखिल सुनार घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि फरार भएका जिप चालक नलगाड–८ हलचौरका २४ वर्षीय विनोद विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।