सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सप्तरी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा पछाडि सवार एक जना घाइते भएका छन्।
हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको ४१ नम्बर ढोकानजिक सोमबार साँझ को ६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक ३५ वर्षीय ओम साफीको भारदह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि सवार २० वर्षीय मंजय साफीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।