सुवाशना खड्का ‘द भ्वाइस किड्स नेपाल’को फाइनलमा
काठमाडौं । ११ वर्षीया बालगायिका सुवाशना खड्का केसी लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–५’को फाइनलमा प्रवेश गरेकी छन्।
बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा कक्षा ७ मा अध्ययनरत सुवाशना गायक वाङदेन शेर्पाको टोलीबाट प्रतिस्पर्धा गरिरहेकी छन्। उनको सुमधुर स्वर, भावपूर्ण गायन र आत्मविश्वासी प्रस्तुतिले निर्णायक तथा दर्शकको मन जित्दै आएको छ।
सुवाशनाले पछिल्लो प्रस्तुतिमा अभया सुब्बाको ‘हे साइँला’ गीत प्रस्तुत गर्दै ‘पर्फर्मर अफ द डे’को उपाधिसमेत जितेकी थिइन्। यसै साता उनले धर्मराज थापाको रचना, नातिकाजीको संगीत तथा तारादेवीको स्वरमा लोकप्रिय ‘कालीपारे दाइ कति राम्रो’ प्रस्तुत गरेकी छन्।
सानैदेखि संगीतमा रुचि राख्दै आएकी सुवाशनाले संगीत शिक्षक टेकेन्द्र नेपाली तथा राग्रुप संगीत पाठशालाबाट संगीत प्रशिक्षण लिँदै आएकी छन्। विभिन्न सांगीतिक विधामा प्रस्तुति दिन सक्ने क्षमताका कारण उनलाई नेपाली संगीतको सम्भावनाशील बालप्रतिभाका रूपमा हेरिएको छ।
फाइनलमा पुगेकी सुवाशनाले उपाधिका लागि देश–विदेशमा रहेका नेपालीलाई खल्ती एपमार्फत मतदान गरी साथ दिन आग्रह गरेकी छन्।