निजामती कर्मचारी अस्पतालमा आइतबारदेखि विशेष ओपीडी
निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै आगामी आइतबारदेखि विशेष ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।
अस्पतालका अनुसार प्रत्येक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विशेष ओपीडी सञ्चालन हुनेछ। सेवामार्फत कर्मचारी तथा परिवारका सदस्यलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
विशेष ओपीडीमा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक, कान तथा घाँटी, रेडियोलोजी र प्याथोलोजीलगायत सेवा उपलब्ध हुनेछन्।
अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा थप विशिष्टीकृत स्वास्थ्य सेवा पनि विस्तार गरिनेछ। विशेष ओपीडी सञ्चालनसँगै उपचारका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था अन्त्य गरी कर्मचारी तथा परिवारलाई सहज स्वास्थ्य सेवा दिने लक्ष्य रहेको अस्पतालले जनाएको छ।